
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)ले नेपालका बाढीपीडितलाई ८३ टन आपत्कालीन राहत सामग्री पठाएको छ । यूएई सहायता एजेन्सीमार्फत नेपालका निम्ति ८३ टन खाद्यान्न, अस्थायी आश्रय सामग्री तथा अरू अत्यावश्यक मानवीय सहायता बोकेको विमान पठाइएको हो ।
यो सहायता सामग्री हालै नेपालका विभिन्न भूभागमा आएको बाढीपहिरोका कारण ज्यान गुमाएकाका परिवार, घाइते भएका, बेपत्ताको खोजबिन तथा घरबारविहीन बनेका सयौँ पीडितका निम्ति पठाइएको यूएईले जनाएको छ ।
यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानको निर्देशनानुसार बाढीपहिरोपीडितको उद्धार, प्रारम्भिक पुनर्स्थापना र राहतका निम्ति विनियोजन गरिएको एक करोड अमेरिकी डलर ९एक अर्ब ५२ करोड रुपैयाँबराबर० सहयोग रकमअन्तर्गत यो आपत्कालीन राहत पठाइएको हो ।
यसले यो कठिन र आपत्कालीन परिस्थितिमा सबै उमेर समूहका प्रभावित मानिसलाई आधारभूत आवश्यकता र सामग्रीको उपलब्धता सुनिश्चित गर्न मद्दत पुग्ने यूएईको विश्वास छ ।
नेपालस्थित यूएई दूतावास र सहायता एजेन्सीले स्थानीय निकायसँग समन्वय गरी ती राहत सामग्री द्रुत गतिमा वास्तविक पीडितसमक्ष पुर्याउने जनाइएको छ ।